राष्ट्रपति रनिङ शिल्डमा तेक्वान्दोले जोगायो मधेसको साख, जित्यो दुई स्वर्णसहित ६ पदक

सिमराः काठमाडौंमा जारी १६औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत तेक्वान्दो खेलमा मधेस प्रदेशले दुई स्वर्णसहित कुल ६ पदक जित्दै सम्मानजनक प्रदर्शन गरेको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको कभर्डहलमा सम्पन्न प्रतिस्पर्धामा मधेसले दुई स्वर्ण, दुई रजत र दुई कास्य पदक हात पारेको हो।
एथलेटिक्सका खेलमा अपेक्षाअनुसार सफलता हासिल गर्न नसकेको मधेसका लागि तेक्वान्दोले गौरवपूर्ण नतिजा दिलाएको छ । मधेसका लागि बाराका समीर नेपालीले पुरुष ४५ केजी तौल समूहमा तथा धनुषाकी खुशी ठाकुरले महिला ५२ केजी तौल समूहमा स्वर्ण पदक जित्दै प्रदेशलाई सफलता दिलाए ।
यसैगरी महिला ४६ केजी तौल समूहमा बाराकी रिगल बोहोरा र पुरुष ५९ केजी तौल समूहमा बाराकै दिलबहादुर तामाङले रजत पदक जिते । महोत्तरीकी क्याट्रिना फुयाँलले महिला ४९ केजी तथा सिरहाका अनिस यादवले पुरुष ५५ केजी तौल समूहमा कास्य पदक जितेका छन् ।
प्रतियोगितामा मधेस प्रदेशबाट ६ पुरुष र ६ महिला गरी १२ खेलाडी सहभागी भएका थिए। तीमध्ये १० जना क्योरुगी तथा दुई जना पुम्से विधामा प्रतिस्पर्धा गरेका थिए ।
तेक्वान्दो खेलको अन्तिम पदक तालिकाअनुसार मधेस प्रदेश तेस्रो स्थानमा रह्यो । बागमती प्रदेश पाँच स्वर्ण, तीन रजत र तीन कास्य पदकसहित पहिलो स्थानमा रहँदा सुदूरपश्चिम प्रदेश दुई स्वर्ण, दुई रजत र तीन कास्य पदकसहित दोस्रो भयो।
त्यसैगरी लुम्बिनी प्रदेश एक स्वर्ण, तीन रजत र पाँच कास्यसहित चौथो स्थानमा रह्यो । कोशी प्रदेश एक स्वर्ण, एक रजत र चार कास्यसहित पाँचौं तथा समान पदक संख्या भए पनि गण्डकी प्रदेश छैटौं स्थानमा सीमित भयो । तीन कास्य जितेको कर्णाली भने तालिकामा सातौं भएको छ ।








