रास्वपा पर्सा जिल्ला अधिवेशन विवाद: दुई पक्षबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित

वीरगन्ज: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा प्रतिनिधि चयनको विषयलाई लिएर कार्यकर्ताहरूबीच तीव्र विवाद र हानाहान भएको छ। वीरगन्ज महानगरपालिका ९ स्थित होटल गेट वेमा मनोनयन प्रक्रिया चलिरहेका बेला पार्टीका दुई पक्षबीच कुटपिट भएको हो।
कुटपिटका क्रममा रास्वपाका तीन जना घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै एक जनालाई नियन्त्रणमा लिएको छ।
पार्टी सदस्य महादेवप्रसाद कुर्मी, केन्द्रीय महाधिवेशन प्रतिनिधि सुधिर पटेल र क्षेत्रीय सभापति राम आर्यसहितको टोलीले मधेस प्रदेश उपसभापति तथा निर्वाचन समिति सदस्य राधिका न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन तत्काल स्थगित गर्न माग गरेका थिए । विभिन्न विभागको नाममा भएको प्रतिनिधि चयनको विषयमा असन्तुष्टि जनाउँदै उनीहरुले ज्ञापनपत्र बुझाएका थिए भने जवाफ दिएर मात्रै प्रतिनिधि चयन प्रक्रिया अघि बढाउन माग गरेका थिए ।
जिल्लाका १४ वटै पालिका तथा विभिन्न विभागका प्रतिनिधि चयनका क्रममा जिल्ला सभापति एवम् सांसद हरि पन्त पक्षले पार्टीको विधान र पद्धति मिचेर एकलौटी रूपमा आफ्ना निकट व्यक्तिहरूलाई प्रतिनिधि बनाएको आरोप असन्तुष्ट पक्षको छ । ज्ञापनपत्र बुझेपछि निर्वाचन समितिले दुई घण्टाका लागि निर्वाचन प्रक्रिया स्थगित गरेको थियो। तर प्रक्रिया पुनः सुचारु हुनासाथ होटलभित्रै दुई पक्षबीच विवाद चर्कियो ।
विवाद बढ्दै जाँदा कार्यकर्ताहरूले एकअर्कामाथि हेलमेट प्रहार गर्न थालेका थिए । प्रहरीले थप अप्रिय घटना हुन नदिन लाठीचार्ज गरेर भिडलाई तितरबितर पारेको थियो ।
कार्यकर्ताबीच हानाहान भएपछि शनिबारको निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित गरिएको निर्वाचन समितिका संयोजक डा. नन्दन यादवले जानकारी दिए। उनले स्थगित प्रक्रिया आइतबार बिहान ८ बजेदेखि मात्र पुनः सुरु गरिने बताएका छन्।
पर्सामा पालिका अधिवेशनदेखि नै सुरु भएको आन्तरिक विवाद जिल्ला अधिवेशनसम्म आइपुग्दा पूर्ण रूपमा छताछुल्ल भएको छ। संस्थापक जिल्ला सभापति तथा पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्त एकातिर छन् भने अर्का तीन सांसदहरू सुशील साह कानु, रमाकान्त चौरसिया र टेकबहादुर शाक्य अर्कातिर छन् ।
यसअघि जेठ १७ गते भएको वीरगन्ज महानगरको प्रथम अधिवेशनमा पनि यो गुटबन्दी स्पष्ट देखिएको थियो । जहाँ कानु, चौरसिया र शाक्य गुटका दीपराज पटेलले पन्त निकटका उम्मेदवार महमद महुदीन आलमलाई ४७ मतान्तरले पराजित गरेका थिए ।
रास्वपा पर्साको सभापति पदमा सांसद पन्त र कानु मुख्य आकांक्षीका रूपमा आमनेसामने देखिएका छन् ।







