रास्वपाको बारा जिल्ला अधिवेशन स्थगित

सिमरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्ला अधिवेशन स्थगित भएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सोमबार सूचना जारी गर्दै मंगलबारका लागि निर्धारित अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको हो ।
केन्द्रीय निर्वाचन प्रमुख भुवन केसीद्वारा जारी सूचनामा विविध अपरिहार्य कारणवश अधिवेशन स्थगित गर्नुपरेको उल्लेख गरिएको छ । सूचनामा अधिवेशनसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया रोकिएको जनाउँदै अर्को निर्देशनको प्रतीक्षा गर्न आग्रह गरिएको छ ।
जेठ २६ गते निजगढस्थित शुभकार्य बैंकेटमा बिहान १० बजे अधिवेशन आयोजना गर्ने तयारी गरिएको थियो । अधिवेशन नजिकिँदै जाँदा नेतृत्व चयनलाई लिएर जिल्लाभित्र नेताकार्यकर्ताबीच प्रतिस्पर्धा र रस्साकस्सी बढेको थियो । तर अन्तिम समयमा अधिवेशन स्थगित भएपछि स्थानीय नेता तथा कार्यकर्ता आश्चर्यमा परेका छन् ।
रास्वपा बारा पछिल्लो समय आन्तरिक विवादका कारण चर्चामा छ । जिल्ला समितिका पूर्वसंयोजक चन्दन स्वर्णकारलाई निलम्बन गरी सदस्यता समेत खारेज गरिएपछि जेठ ९ गते सम्पन्न विस्तारित बैठक तनावपूर्ण बनेको थियो । बैठकमा स्वर्णकार पक्षधर नेताकार्यकर्ताले विरोध जनाएपछि कार्यक्रममा सहभागी चार सांसद र केन्द्रीय प्रतिनिधिलाई सुरक्षाकर्मीको सहयोगमा कार्यक्रमस्थलबाट बाहिर निकालिएको थियो ।
अनुशासन उल्लंघनको आरोपमा साधारण सदस्यबाट समेत हटाइएका स्वर्णकारले आफूमाथि अन्याय भएको दाबी गर्दै आएका छन् । उनले उक्त निर्णयविरुद्ध संघर्ष जारी राख्ने बताएका छन् । स्वर्णकार पक्षधरको निरन्तर विरोधका कारण जिल्ला अधिवेशन सहज रूपमा सम्पन्न हुने सम्भावना कमजोर देखिएको थियो ।

पालिकास्तरीय अधिवेशनहरू पनि विवादमुक्त रहन सकेनन् । पालिका अधिवेशनको विवादलाई लिएर कलैयाबाट रास्वपाका कार्यकर्ता केन्द्रीय कार्यालय समेत पुगेका छन् । उनीहरुले केन्द्रीय कार्यालयमा धर्ना समेत दिएका थिए ।
यसैबीच पालिका अधिवेशनसम्बन्धी उजुरी परेपछि केन्द्रीय निर्वाचन प्रमुख केसीले जेठ २० गते पाँच स्थानीय तहका निर्वाचन समिति संयोजकसँग स्पष्टीकरण माग गरेका थिए । महागढीमाई नगरपालिका, निजगढ नगरपालिका, आदर्श कोतवाल गाउँपालिका, करैयामाई गाउँपालिका र सुवर्ण गाउँपालिकाका संयोजकलाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण र प्रमाण पेश गर्न निर्देशन दिइएको थियो ।
परवानीपुर, फेटा र बिश्रामपुर गाउँपालिकाको अधिवेशन प्रक्रिया पनि विवादमा तानिएको छ । यस्तै बारा जिल्ला संगठन निर्माण विशेष समितिकी संयोजक तथा सांसद कामिनी चौधरीको नामबाट अधिवेशन सफल बनाउन आग्रह गरिएको पत्र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अधिवेशन समयमै हुने अपेक्षा गरिएको थियो ।
अधिवेशनको मिति नजिकिँदै जाँदा जिल्ला समितिमा नेतृत्वका आकांक्षीहरूले सामाजिक सञ्जालमार्फत प्रचारप्रसार समेत सुरु गरिसकेका थिए। तर केन्द्रबाट अधिवेशन स्थगनको निर्णय आएपछि जिल्ला अधिवेशन अन्योलपूर्ण बनेको छ ।
पार्टी स्रोतका अनुसार पालिका अधिवेशनसँग सम्बन्धित विवाद समाधान नभएकै कारण जिल्ला अधिवेशन स्थगित गरिएको हुन सक्ने अनुमान गरिएको छ ।







