सिमरामा ९०६ जना विद्यार्थीको निःशुल्क आँखा परीक्षण, ८६ जनाको आँखामा समस्या

सिमराः जीतपुरसिमरा २ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा मंगलबार निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी किरण आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको हो ।
शिविरमा ९०६ जना विद्यार्थीको आँखा जाँच गरिएको थियो । जाँच गरिएकामध्ये ८६ जनाको आँखामा दृष्टीदोषको समस्या देखिएको किरण आँखा अस्पतालका संचालक डा. अमर केयालले जानकारी दिएका छन् ।
आँखामा समस्या देखिएका विद्यार्थीलाई सिमरास्थित किरण आँखा अस्पतालमा निःशुल्क उपचारका लागि रिफर गरिएको छ । रिफर गरिएका विद्यार्थीलाई अस्पतालमा थप जाँच गरी आवश्यक परामर्श दिइने डा. केयालले बताएका छन् ।
किरण आँखा अस्पतालले पछिल्लो समय विभिन्न विद्यालयमा आँखा परीक्षण शिविर संचालन गरिरहेको छ । अस्पतालले बुधबार अमलेखगञ्जस्थित पृथ्वी इङ्लिस स्कुल र बिहीबार लिटल एन्जल इङ्लिस स्कुलमा शिविरको आयोजना गर्ने भएको छ ।
यसअघि अस्पतालले जीतपुरस्थित फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालय, एकता स्कुल सिमरामा शिविरको आयोजना गरेको थियो । किरण आँखा अस्पतालले २०८१ भदौ १५ गतेदेखि सिमरामा सेवा दिँदै आएको छ ।







