सिमरामा ६ दिने तेक्वान्दो रेफ्री रिफ्रेसर तथा सेमिनार सुरु


eShilalekh

५ असार २०८३, शुक्रबार २०:०७

सिमराः नेपाल तेक्वान्दो संघको आयोजना तथा मधेस प्रदेश तेक्वान्दो संघको समन्वयमा ६ दिने रेफ्री रिफ्रेसर तथा सेमिनार शुक्रबारदेखि सिमरामा सुरु भएको छ। विश्व तेक्वान्दो महासंघले हालै लागू गरेको नयाँ नियमअनुसार निर्णायकहरूलाई अद्यावधिक गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

सेमिनारअन्तर्गत सहभागी निर्णायकहरूलाई क्योरुगी र पुम्से विधासम्बन्धी विश्व तेक्वान्दो महासंघका नयाँ नियम तथा खेल सञ्चालनसम्बन्धी प्रशिक्षण प्रदान गरिनेछ। कार्यक्रममा विभिन्न स्थानबाट ६९ जना निर्णायक सहभागी भएका छन् ।

विश्व तेक्वान्दो महासंघको साधारणसभाले संशोधन गरेका नयाँ नियमहरू जुन १ देखि लागू भइसकेका छन्। सोही नियमअनुसार प्रतियोगिता सञ्चालन गर्नुपर्ने भएकाले नेपाल तेक्वान्दो संघले सातै प्रदेशमा रेफ्री रिफ्रेसर तथा सेमिनार आयोजना गरिरहेको जनाएको छ ।

सेमिनारमा अन्तर्राष्ट्रिय निर्णायक तथा नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य कुमार लामा घिसिङ, अन्तर्राष्ट्रिय निर्णायक नविना बुढाथोकी तथा काजल श्रेष्ठ, तालिम समिति सदस्य बिजय शाह ठकुरीले प्रशिक्षण दिनेछन् ।

नेपाल तेक्वान्दो संघका अनुसार सेमिनारमा सहभागी नभएका निर्णायकहरूले आगामी प्रतियोगिताहरूमा खेल सञ्चालन गर्न नपाउने व्यवस्था गरिएको छ। सोही कारण निर्णायकहरूको उत्साहजनक सहभागिता देखिएको आयोजकले जनाएको छ ।

यसअघि कार्यक्रमको उद्घाटन नेपाल तेक्वान्दो संघकी केन्द्रीय सदस्य नन्दा बस्यालले गरेकी थिइन् । कार्यक्रममा मधेस प्रदेश तेक्वान्दो संघका केन्द्रीय सदस्य गुरुप्रसाद गौतम, मधेस प्रदेश अध्यक्ष पेमासिद्धी लामा, महासचिव राजकुमार लामालगायतको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रमको सहजीकरण विकास पाण्डेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्