जीतपुरसिमराको प्रमुख र उपप्रमुखमा गठबन्धनको अग्रता कायम


eShilalekh

२ जेष्ठ २०७९, सोमबार १४:०६

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् ।

हालसम्म मतगणना सम्पन्न भईसकेको १० वटा वडाको मतपरिणाम अनुसार गठबन्धनको तर्फबाट प्रमुख पदको उम्मेदवार नेकपा माओवादी केन्द्रका राजन पौडेल र उपप्रमुख पदकी उम्मेदवार नेपाली कांग्रेसकी मेघा शाहीले अग्रता कायम राखेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार पौडेलले आठ हजार एक सय ७६ मत प्राप्त गरेका छन् भने गठबन्धनलाई पछ्याउदै गरेको एमालेकी नगर प्रमुख उम्मेदवार सरस्वती देवी चौधरीले पाँच हजार आठ सय ६१ मत प्राप्त गरेकी छिन् । प्रमुख पदमा गठबन्धनले दुई हजार तीन सय १५ को अग्रता लिएको छ ।

यसैगरी उपप्रमुखमा कांग्रेसकी मेघा शाहीले सात हजार एक सय ९४ मत प्राप्त गर्दा एमालेको उपप्रमुखका उम्मेदवार भोलाप्रसाद अधिकारीले ६ हजार दुई सय ३४ मत गरेका छन् । उपप्रमुखमा ९ सय ६० ले शाहीले अग्रता लिएकी छिन् ।

जीतपुरसिमरामा हालसम्म १० वडाको मतगणना सम्पन्न हुँदा एमालेले ६, कांग्रेसले ३ र नेकपा माओवादी केन्द्रले १ वटा वडामा जित हात पारेको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार अहिले वडा नं. ५, ७ र १९ को मतगणना भईरहेको छ ।
हालसम्म निर्वाचित वडाध्यक्षहरुः
वडा नं. १ः हिराबहादुर गुरुङ (नेपाली कांग्रेस)
वडा नं. २ः धनबहादुर श्रेष्ठ (नेकपा एमाले)
वडा नं. ३ः ताराबहादुर कार्की (नेकपा एमाले)
वडा नं. ४ः भोजबहादुर खत्री (ईश्वर) (नेकपा माओवादी केन्द्र)
वडा नं. ६ः कैमुदिन अंसारी (नेकपा एमाले)
वडा नं. २०ः रसुल मिया अंसारी (नेकपा एमाले)
वडा नं. २१ः सुवास श्रेष्ठ (नेकपा एमाले)
वडा नं. २२ शेखर काजी रुम्बा (नेपाली कांग्रेस)
वडा नं. २३ः मुस्तकिम अंसारी (नेकपा एमाले)
वडा नं. २४ः सुलतान अंसारी (नेपाली कांग्रेस)

प्रतिक्रिया दिनुहोस्