अमलेखगञ्जमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी एक दिने सचेतना कार्यक्रम सम्पन्न

अमलेखगञ्ज: अनमोल बचत तथा ऋण सहकारी संस्थाको आयोजना एवम् एन्जल फाउन्डेसनको प्राविधिक सहयोगमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ र २२ का बासिन्दाहरूलाई लक्षित गरी उक्त कार्यक्रम आयोजना गरिएको हो ।
अनमोल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विनयकुमार साहको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ का वडाध्यक्ष सुवास श्रेष्ठ प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा वडा सदस्य जमुना गौतम, अमलेखगञ्ज स्वास्थ्य चौकी प्रमुख अप्सरा तिवारी, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय अमलेखगञ्जका सहायक प्रधानाध्यापक रोहितबहादुर घिसिङ तामाङका साथै एन्जल फाउन्डेसनका प्रशिक्षक तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा दैनिक जीवनमा आइपर्ने स्वास्थ्य समस्या, आपत्कालीन अवस्थामा गरिने प्राथमिक उपचारका उपायहरू र समाजमा अझै पनि खुलेर कुरा गर्न संकोच मानिने गुप्त रोग तथा तिनको रोकथामका विषयमा सहभागीहरूलाई व्यावहारिक जानकारी गराइएको थियो ।
वि.सं. २०७९ मा मोरङको उर्लाबारी-७ मा केन्द्रीय कार्यालय स्थापना भई सञ्चालनमा आएको सामाजिक संस्था ‘एन्जल फाउन्डेसन’ ले नेपालभर स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । फाउन्डेसनले देशका विभिन्न भागमा निःशुल्क स्वास्थ्य जाँच शिविर, प्राथमिक उपचार सचेतना, गुप्त रोग सम्बन्धी अभिमुखीकरण तथा चाडपर्व लक्षित सरसफाइ कार्यक्रम जस्ता जनहितकारी कार्यहरू निरन्तर सञ्चालन गर्दै आएको छ ।
सहभागीहरूले यस्ता जनचेतनामूलक कार्यक्रमले स्थानीय स्तरमा स्वास्थ्य सम्बन्धी सकारात्मक सन्देश प्रवाह गर्नुका साथै आपत्कालीन समयमा जीवन रक्षाका लागि उपयोगी हुने बताएका छन् ।







