रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, अनुसन्धान जारी


eShilalekh

८ श्रावण २०८३, शुक्रबार १४:४५

रौतहट: रौतहटको गुजरा नगरपालिका ५ हरिहरपुर टोलमा शुक्रबार बिहान खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ।

स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी ४५ वर्षीया रेणुदेवी जयसवालको खुकुरी प्रहारबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बाराको करैयामाई गाउँपालिका ८ इटहर बेलाही टोल घर भई हाल गुजरा ५ हरिहरपुरमै बस्दै आएका अन्दाजी ३५ वर्षीय उपेन्द्र साह कलवारले धारिलो हतियार (खुकुरी) प्रहार गरेका थिए। खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी रेणुदेवीको घटनास्थलमै ज्यान गएको हो।

घटनालगत्तै आक्रोशित बनेका स्थानीयवासीले आरोपी उपेन्द्रमाथि कुटपिट गरेका छन्। स्थानीयको कुटपिटबाट गम्भीर घाइते भएका आरोपीको हाल चन्द्रपुर अस्पताल, चन्द्रनिगाहपुरमा प्रहरी नियन्त्रणमा उपचार भइरहेको छ।

हतियार प्रहार गर्नुको मुख्य कारण भने हालसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

घटनाको खबर प्राप्त हुनासाथ घटनास्थल पुगेको प्रहरी टोलीले आवश्यक अनुसन्धान तथा प्रमाण सङ्कलनको काम गरिरहेको छ भने हत्याको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्