सर्लाहीबाट ठूलो परिमाणमा अवैध मदिरासहित दुई पिकअप गाडी नियन्त्रणमा

सर्लाहीः सर्लाही प्रहरीले अवैध रूपमा तस्करी गर्न लागिएको मदिरासहित दुई पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।
बलरा नगरपालिकाको सीमावर्ती क्षेत्रमा भारततर्फ लैजान तयारी अवस्थामा रहेका दुई पिकअप नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल सर्लाहीका प्रमुख एसपी अमरबहादुर खत्रीले जानकारी दिए ।
उनका अनुसार बिहान करिब ११ बजे बलरा नगरपालिका १ स्थित सेढवा गाउँबाट प्रदेश २–०३–००१ च ५६६८ नम्बरको पिकअप नियन्त्रणमा लिइएको थियो । उक्त गाडीमा दुई सय ५० कार्टुन सौफी मदिरा लोड गरिएको थियो ।
यसैगरी बिहान करिब ९ बजे बलरा नगरपालिका ३ लक्ष्मिपुर नाकाबाट प्रदेश २–०३–००१ ख ५१३५ नम्बरको अर्को पिकअप नियन्त्रणमा लिइएको थियो । उक्त गाडीमा तीन सय ६० कार्टुन सौफी मदिरा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्रनाथ पौडेललेका अनुसार एउटा मदिरा बोकेको पिकअप नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो भने अर्को सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर जिल्ला भन्सार कार्यालय सर्लाहीमा बुझाइसकेको छ ।
प्रहरीले दुवै पिकअपका चालकलाई समेत नियन्त्रणमा लिई बरामद मदिरा, सवारीसाधन र चालकविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ ।







