पर्सामा एकै परिवारका दुई बालिकाको पानीमा डुबेर मृत्यु

वीरगञ्जः पर्साको वीरगञ्ज महानगरपालिका २६ सुगौलीबिर्तामा निर्माणाधीन कल्भर्टको खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका दुई बालिकाको मृत्यु भएको छ।
स्थानीय प्रभु ठाकुरकी ५ वर्षीया छोरी पुचकी ठाकुर र ३ वर्षीया छोरी घघरी ठाकुरको पानीमा डुबेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार सोमबार साँझ घरबाहिर खेलिरहेका दुवै बालिका अचानक हराएपछि परिवारले नजिकका घर तथा टोलमा खोजी गरेका थिए।
खोजी गर्ने क्रममा मंगलबार बिहान सुगौलीबिर्ताबाट खेततर्फ जाने चक्रगह क्षेत्रमा निर्माणाधीन कल्भर्टको खाल्डोमा जमेको पानीमा दुवै बालिकाको शव फेला परेको थियो। शव देखेपछि स्थानीय बासिन्दाले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए।
घटनाको खबर प्राप्त हुनासाथ पुगेको प्रहरी टोलीले दुवै बालिकाको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







