विश्वप्रसिद्ध गढीमाई मन्दिरबाट गहना चोरी, स्थानीयद्वारा छानबिनको माग


eShilalekh

१३ श्रावण २०८३, बुधबार १५:१६

सिमराः बाराको महागढीमाई नगरपालिका १ बरियारपुरस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिरमा ताला तोडेर गहना चोरी भएको घटनाप्रति स्थानीयवासीले गम्भीर ध्यानाकर्षण गराएका छन् ।

साउन १० गते आइतबार राति मन्दिरबाट चाँदीको मुकुट, सुनको जलप लगाइएको चाँदीको हार, सुनको तिलहरी र सुनको हार गरी चार थान गहना चोरी भएको मन्दिरका मूल पुजारी शिव चौधरीले जानकारी दिएका छन् ।

घटनाको चार दिनपछि बुधबार मन्दिर प्राङ्गणमा पत्रकार सम्मेलन गर्दै स्थानीयले यस घटनाको निष्पक्ष छानबिन गर्न र दोषीलाई तत्काल पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

पत्रकार सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका निवर्तमान सभापति चन्दन कुमार स्वर्णकारले धार्मिक आस्थाको केन्द्रमा यस घटनाले सर्वसाधारणमा गम्भीर चिन्ता उत्पन्न गराएको उल्लेख गर्दै सम्बन्धित निकायसँग सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन् ।

यता जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख तथा प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले सिसिटिभी फुटेजका आधारमा अनुसन्धान अघि बढाइएको बताएका छन् ।

हालसम्म घटनामा संलग्न व्यक्तिको पहिचान नभए पनि उनीहरूको खोजी तथा अनुसन्धान कार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्