पर्साका प्रहरी प्रमुख एसपी सुदीपराज पाठक सरुवा, भट्टराईले पाए जिम्मेवारी

वीरगञ्जः जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख (एसपी) सुदीपराज पाठकको सरुवा भएको छ ।
नारायणी अस्पतालको घटनालाई लिएर उत्पन्न विवादका क्रममा आन्दोलनरत चिकित्सकमाथि दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी प्रधान कार्यालयले उनलाई हेडक्वार्टर तानेको हो ।
एसपी पाठकको स्थानमा प्रहरी प्रधान कार्यालयले काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईलाई पर्साको नयाँ प्रहरी प्रमुखको रूपमा पठाएको छ ।
गत शनिबार नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड र चिकित्सकहरूमाथि निर्घात कुटपिट भएको थियो ।
सोही विषयलाई समाधान गर्न गत सोमबार जिल्ला प्रशासन कार्यालयमा भएको वार्ताका दौरान एसपी पाठकले चिकित्सकहरूप्रति आक्रामक व्यवहार देखाएको भन्दै आलोचना भएको थियो ।







