चीनमा नेपालले जित्यो १२ स्वर्णसहित ३४ पदक, घिसिङ र श्रेष्ठ उत्कृष्ट


eShilalekh

१४ श्रावण २०८३, बिहीबार १४:२३

सिमराः चीनको सान्या सहरमा आयोजना भएको हाइनान बिच तेक्वान्दो ओपन च्याम्पियनसिपमा नेपालले १२ स्वर्णसहित कुल ३४ पदक जित्न सफल भएको छ। सान्या तेक्वान्दो एसोसिएसनद्वारा आयोजित प्रतियोगितामा नेपाली खेलाडीहरूले ग्यारोगी, पुम्से, फिस्ट ब्रेकिङ र जम्प रोप विधामा कुल ३४ पदक हात पारेका हुन्। 

जुलाई २७ देखि २९ सम्म आयोजना भएको प्रतियोगितामा नेपालले १२ स्वर्ण, ८ रजत र १४ कास्य पदक जितेको छ। प्रतियोगितामा नेपालका अनुप शाक्य र हृदयानी बस्नेतले दोहोरो स्वर्ण हात पारेका छन्। अनुपले ग्यारोगी ३२ केजी र १० देखि १२ वर्ष उमेर समूहको पुम्सेमा स्वर्ण जितेका हुन्। उनले जम्प रोपमा समेत कास्य पदक प्राप्त गरेका छन्। यसैगरी हृदयानीले ग्यारोगी ३४ केजी र जम्प रोपमा स्वर्णका साथै १२ देखि १४ वर्षको पुम्सेमा रजत पदक हात पारिन्।

यता अस्टिन पाण्डेले २३ केजीमा स्वर्ण, पुम्से र जम्प रोपमा कास्य पदक हात पारेका छन्। जोलिना बस्नेतले १२ देखि १४ वर्षको पुम्सेमा स्वर्ण, ग्यारोगी ४३ केजीमा रजत र जम्प रोपमा कास्य पदक जितेकी छिन्।

यसैगरी सोहन पाठकले १० देखि १२ वर्षको पुम्सेमा स्वर्ण जितेका छन्। उनले ग्यारोगी र जम्प रोपमा समेत कास्य पदक प्राप्त गरेका छन्।  सोही उमेर समूहको पुम्सेमा एमी कार्कीले स्वर्ण र जम्प रोपमा कास्य जितिन्।  यता छुल्टिम लामाले फिस्ट ब्रेकिङमा स्वर्ण र जम्प रोपमा कास्य पदक जितेका छन्।

यसैगरी सबिन विश्वकर्माले फिस्ट ब्रेकिङ र देवराज खम्छाले ३० वर्षमुनिको पुम्सेमा स्वर्ण पदक हात पारेका छन्। ४६ केजी तौल समूहमा कुश योग सुनुवारले स्वर्ण र जम्प रोपमा रजत, लभ योग सुनुवारले ग्यारोगी ४६ केजी र जम्प रोपमा रजत, सिरजल ढकालले ६५ केजी माथिको ग्यारोगीमा रजत र जम्प रोपमा कास्य जितेका छन् ।

यसैगरी दीपश्री तामाङले ३८ केजीमा रजत तथा पुम्से र जम्प रोपमा कास्य, पार्वती बस्नेतले फिस्ट ब्रेकिङमा रजत तथा जम्प रोपमा कास्य र करुण नेपालीले १४ वर्षमुनिको पुम्सेमा रजत पदक जितेका छन्। ३० वर्षमुनिको पुम्सेमा निर्मला ठाडाले टोलीका लागि कास्य पदक सुनिश्चित गरिन्।

नेपाली टोलीका प्रशिक्षक काजल श्रेष्ठले खेलाडीहरुको उत्कृष्ट प्रदर्शन रहेको बताइन्। यस्तो प्रतियोगितामा सहभागी भएर पदक जित्दा देशको नामको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनिनुका साथै खेलाडीमा समेत हौसला मिल्ने श्रेष्ठको भनाइ थियो। श्रेष्ठ उत्कृष्ट कोच घोषित भइन्। नेपालबाट सहभागी अन्तर्राष्ट्रिय रेफ्री कुमार लामा घिसिङ उत्कृष्ट रेफ्रीको रूपमा सम्मानित भएका छन् । प्रतियोगितामा अन्तर्राष्ट्रिय रेफ्री भिम विश्वकर्मा पनि रेफ्रीका रुपमा सहभागी थिए ।

नेपाली टोलीको उत्साह बढाउन राष्ट्रिय खेलकुद परिषदका खेलकुद विकास विभाग प्रमुख चन्द्रकुमार राई, निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ र मधेश प्रदेश तेक्वान्दो संघका महासचिव राजकुमार लामा समेत प्रतियोगितामा सहभागी थिए।

सान्या तेक्वान्दो एसोसिएसनको आयोजनामा सम्पन्न प्रतियोगितामा नेपालसहित १६ राष्ट्रको सहभागिता रहेको थियो। प्रतियोगितामा करिब चार सय खेलाडी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्