धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न बारामा सर्वपक्षीय संयुक्त अपील


eShilalekh

१५ श्रावण २०८३, शुक्रबार १५:१९

सिमराः बारामा क्रियाशील राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, बुद्धिजीवी तथा जिल्ला सुरक्षा समितिले जिल्लाभित्र धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय संयुक्त अपील जारी गरेका छन् ।

हालै छिमेकी जिल्लाहरू सुनसरी र सिरहा लगायतका क्षेत्रमा घटेका अप्रिय घटनाहरूप्रति दुःख व्यक्त गर्दै सर्वपक्षीय बैठकले मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

विगतका द्वन्द्वबाट बारा जिल्लाले ठूलो क्षति व्यहोरिसकेको तथ्यलाई स्मरण गराउँदै जारी अपीलमा सामाजिक सञ्जालहरू जस्तै फेसबुक, टिकटक, इन्स्टाग्राम, ह्वाट्सएप र युट्युबमार्फत भ्रामक अफवाह फैलाउने तथा पुराना विषय र घटनालाई उचालेर समाजमा द्वेष र घृणा फैलाउने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

कुनै पनि वर्ग, समुदाय वा व्यक्तिले एक अर्काको धर्म, आस्था र संस्कृतिलाई लक्षित गरी अमर्यादित टिप्पणी गर्ने, भाषण गर्ने वा सामाजिक सद्भाव बिथोल्ने किसिमका गतिविधि गरेमा त्यस्ता कार्य निन्दनीय हुने वक्तव्यमा उल्लेख छ ।

जिल्लामा आपसी एकता, शान्ति सुरक्षा र बहुल पहिचानको रक्षाका लागि सबै धर्म र सम्प्रदायका नागरिक, धार्मिक गुरुहरू, नागरिक समाज, युवा वर्ग तथा सञ्चारकर्मीहरूलाई एकजुट भएर हातेमालो गर्न अनुरोध गरिएको छ ।

साथै वर्तमान समयमा सबै पक्षलाई संयमित रहँदै उत्तेजना फैलाउने वा धार्मिक भावनामा आघात पुर्‍याउने खालका गतिविधि नगर्न र गराउन हार्दिक अपील गरिएको छ ।

सर्वपक्षीय टोलीले बारा जिल्लाई धार्मिक, सामाजिक तथा सांस्कृतिक एकता र सहिष्णुताको नमुना जिल्ला बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्