पर्सामा श्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ

वीरगञ्जः पर्सा प्रहरीले श्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका २ घर भई हाल जिल्ला चितवन माडी नगरपालिका ९ हनुमानझुला बस्ने ४२ वर्षीय दिपेश हिमडुङ र २६ वर्षीय तिलक हिमडुङ रहेका छन् ।
ईलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरी टोलीले पर्साको जगरनाथपुर गाउँपालिका २ नहर सडकखण्डमा ना. १० प ४४६९ नम्बरको मोटरसाईकल रोकी जाँच गरेको थियो ।
जाँचका क्रममा श्रोत नखुलेको प्रतिबन्धित भारतीय रु.५०० दरका नोट ३१६ थान एक लाख ५८ हजार, रु.२०० दरका नोट ७५ थान रु. १५ हजार , रु.१०० दरका नोट ३६५ थान रु.३६ हजार पाँच सय गरी जम्मा दुई लाख ९ हजार पाँच सय भारतीय रकम फेला परेको छ ।
प्रतिबन्धित भारतीय नोट, मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।







