महोत्तरीमा निलगाईसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाईते

सिमराः महोत्तरीको बर्दिवासमा आइतबार निलगाईसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका १ का ३२ बर्षीय बिनयकुमार साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बर्दिबासबाट भिमानतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–००७ प १९०९ नम्बरको मोटरसाइकल सडक काट्दै गरेको निलगाईलाई ठक्कर दिएको थियो ।
उक्त दुर्घटनामा परी मोटरसाइकल चलाईरहेका बिनय घाइते भएका थिए । उनलाई उपचारको लागि बर्दिवासस्थित जनसेवा अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
सोही मोटरसाइकलको पछाडि सवार धनुषाको हंसपुर नगरपालिका ३ का ४० वर्षीय रबिन्द्र साह घाइते भएका छन् । दाहिने खुट्टा भाँचिएका रविन्द्रको उपचार भईरहेको र उनको स्वास्थ्य अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
यता मोटरसाइकलको ठक्करबाट निलगाईको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा संलग्न मोटरसाइकल इलाका प्रहरी कार्यालय बर्दिबासको नियन्त्रणमा रहेको छ ।







