विवाद चर्किएपछि स्वास्थ्यमन्त्रीको स्पष्टीकरण: ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्न लागिएको होइन


eShilalekh

२१ श्रावण २०८३, बिहीबार १०:५४

सिमरा: धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्रै सार्न लागिएको भन्दै स्थानीयस्तरमा आन्दोलन चर्किएपछि स्वास्थ्य मन्त्री निशा मेहताले उक्त योजना यथावत् रहेको स्पष्ट पारेकी छन् । गत मङ्गलबार प्रतिनिधिसभा बैठकमा मन्त्री मेहताले सिरहाको लहानमा ट्रमा सेन्टर निर्माण गरिने वक्तव्य दिएको भन्दै ढल्केबर क्षेत्रका बासिन्दहरू आक्रोशित बनेका थिए ।

उक्त वक्तव्यलाई लिएर विवाद चुलिएपछि बिहीबार फेसबुकमार्फत सन्देश जारी गर्दै मन्त्री मेहताले ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्ने सरकारको योजना रोकिएको वा परिवर्तन नभएको उल्लेख गरेकी छन् ।`ढल्केबरको भौगोलिक अवस्थिति, पूर्वपश्चिम राजमार्ग तथा मधेस प्रदेशलाई जोड्ने प्रमुख सडक सञ्जालका कारण त्यहाँ ट्रमा सेन्टरको आवश्यकता उत्तिकै महत्त्वपूर्ण छ´ मन्त्री मेहताले लेखेकी छन् `संसदमा लहानको सन्दर्भ उठाउनुको उद्देश्य ढल्केबरको योजना कटौती गरेर लहानलाई प्राथमिकता दिनु होइन। मधेश प्रदेशका विभिन्न स्थानमा दुर्घटना र भौगोलिक आवश्यकताका आधारमा क्रमशः ट्रमा सेन्टरहरू स्थापना गर्दै जाने सरकारको दीर्घकालीन सोचलाई मात्र स्पष्ट पार्न खोजिएको हो ।´

यता स्थानीयस्तरमा भने मन्त्रीको अभिव्यक्तिलाई लिएर असन्तुष्टि बढेको छ । सङ्घीय सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत धनुषाको मिथिला नगरपालिका-७ (साविक ढल्केवर गाविस) स्थित ४ बिघा ऐलानी जग्गामा ट्रमा सेन्टर निर्माणका लागि पहिलोपटक रकम विनियोजन गरेको थियो ।

मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोका अनुसार ट्रमा सेन्टरका लागि जग्गा प्राप्तिको कानुनी प्रक्रिया पूरा भईसकेको छ । शिलान्यासको अन्तिम तयारीमा रहेको योजना मन्त्रीको अभिव्यक्तिका कारण विवादमा तानिएको मेयर महतोको भनाइ छ ।

मन्त्रीको वक्तव्यलाई लिएर स्थानीय जनप्रतिनिधिसमेतको उपस्थितीमा बुधबार साँझ स्थानीहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए। उनीहरुले ढल्केवरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टर अन्यत्र सार्न नपाइने भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुले बिहीबार आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने बताएका थिए ।

यसबीचमै स्वास्थ्यमन्त्री मेहताको स्पष्टीकरण आएको हो । स्थानीयले भने मन्त्री मेहताले सदनबाटै वक्तव्य सच्याउनुपर्ने अडान लिईरहेका छन् ।

स्वास्थ्यमन्त्री निशा मेहताले फेसबुकमा लेखेको स्टाटस:

प्रतिक्रिया दिनुहोस्