कोल्हवीका सुलभ थाइल्यान्डमा हुने १६औं अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा भिड्दै

सिमराः बारा कोल्हवीका उदीयमान युवा कराते खेलाडी सुलभ चौधरी थाइल्यान्डमा आयोजना हुने १६औं ओपन कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने भएका छन् ।
थाइल्यान्ड कराते महासंघको आयोजनामा आगामी अगस्ट १४ देखि १६ सम्म (साउन २९ देखि ३१ गते) सञ्चालन हुने सो प्रतियोगितामा विश्वका २५ भन्दा बढी राष्ट्रका खेलाडीहरूको सहभागिता रहनेछ ।
प्रतियोगितामा सुलभले दुई फरक विधा अन्डर-१२ व्यक्तिगत काता र ४० केजी तौल समूह (फाइट) मा प्रतिस्पर्धा गर्नेछन् ।
सुलभ यसअघि पनि अन्तर्राष्ट्रिय रिङमा आफ्नो क्षमता प्रमाणित गरिसकेका खेलाडी हुन् । उनले हालै जुलाई १५ देखि १९ सम्म बंगलादेशको ढाकामा सम्पन्न दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपालका लागि कास्य पदक जितेका थिए ।
लगातार अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रदर्शन गर्दै आएका चौधरीले यसपटक पनि थाइल्यान्डबाट नेपालका लागि पदक भित्र्याउने अपेक्षा गरिएको छ ।







