अपडेटः सिमरा दुर्घटनाका तीनै जना घाइतेको पहिचान खुल्यो, अवस्था मध्यम

सिमराः बाराको सिमरामा सोमबार दिउँसो टाटा सुमोले स्कुटरलाई ठक्कर दिँदा घाइते भएका तीनै जनाको नाम खुलेको छ । प्रहरीका अनुसार दुर्घटनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ का १५ वर्षीय स्कुटर चालक अलेककुमार तामाङ, जीतपुरसिमरा २१ का १५ वर्षीय सुशान्त क्षेत्री र सोही ठाउँका १५ वर्षीय स्वयम श्रेष्ठ घाइते भएका छन् ।
घाइते सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइतेको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय सिमराका अनुसार काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको म.प्र. ०८–००१ज ०००९ नम्बरको टाटा सुमोले सिप्रदी अगाडी सडक पार गर्न लागेको प्र. ०२–०३–००९ प ६६७६ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । ठक्करबाट स्कुटरमा सवार तीन जना घाइते भएका थिए ।
घाइतेलाई तत्कालै उपचारका लागि अस्पताल लगिएको र अभिभावकको उपस्थितीमा उपचार भईरहेको प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।







