नारायणी अस्पतालमा मंगलबार साँझदेखि सर्पदंशको उपचार सूचारु हुने, जीतपुरसिमराको प्रक्रिया कहाँ पुग्यो ?


eShilalekh

२६ श्रावण २०८३, मंगलवार १६:३१

सिमराः वीरगन्ज नारायणी अस्पतालमा सर्पदंशविरुद्धको औषधी एन्टी स्नेक भेनम अभाव भएको छ । अस्पतालमा औषधी मौज्दात नभएपछि सर्पदंशविरुद्धको उपचार सेवा प्रभावित बन्न पुगेको छ ।

अस्पताल प्रशासनले औषधी मौज्दात नभएको भन्दै सूचना टाँस गरेको छ । अस्पतालले मंगलबार साँझदेखि सेवा सुरु हुनसक्ने जनाएको छ । यस क्षेत्रकै सबैभन्दा ठूलो अस्पतालमा औषधी अभाव भएपछि सर्पदंशका बिरामी उपचारका लागि हेटौंडा धाउन बाध्य भएका छन् ।

एन्टी स्नेक भेनम अभाव भएपछि जीतपुरसिमरा उपमहानगरपालिका ४ का आकाश श्रेष्ठ (शेरबहादुर) बुधबार वीरगन्जबाट हेटौंडा पुगेका छन् । सर्पले डसेपछि उनलाई तत्कालै वीरगन्ज लगिएको थियो । तर औषधी नभएपछि हेटौंडा लगिएका उनको त्यहाँ उपचार भईरहेको छ ।

तराईंमा बढ्दो गर्मीमा सर्पदंशका घटना बढ्दो अवस्थामा छ । यस्तो अवस्थामा महत्वपूर्ण औषधीनै अभाव भएपछि चिन्ता र चासो बढेको छ । उक्त अस्पतालमा तत्काल औषधीको व्यवस्थापन गर्न सरकारसँग माग गर्न थालिएको छ । औषधी अभाव भएको विषयमा ध्यानाकर्षण भएको भन्दै पर्सा–२ का सांसद सुशील कुमार कानुले मंगलबार साँझसम्म सेवा सुरु हुने गरी पहल भईरहेको उल्लेख गरेका छन् ।

यता जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले आफ्नो नगरका एक स्थानीयले उपचारका लागि अन्यत्र जानुपरेपछि सामाजिक सञ्जालमार्फत दुखेसो पोखेका छन् । फेसबुकमा स्टाटस लेख्दै पौडेलले तत्काल औषधीको व्यवस्थापन गर्न माग गरेका छन् ।

पौडेलले सरकारको ध्यानाकर्षण गराउन भन्दै लेखेको उक्त स्टाटसमा जीतपुरसिमरा स्थानीयले भने नगर अस्पतालमै उक्त सेवा संचालन किन नगरेको भन्दै प्रतिप्रश्न गरेका छन् । स्थानीयले नगर अस्पतालमा उक्त सेवा संचालन गर्न नगर प्रमुखसँग माग गरिरहेका छन् ।

तर उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रवी भाष्करले भने सर्पदंशको उपचारका लागि हालसम्म स्वीकृति नपाएकाले सेवा सुरु हुन नसकेको बताएका छन् । उपमहानगरपालिकाले सर्पदंशको उपचार संचालनका लागि लामो समयदेखि टेकुस्थित इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग स्वीकृति माग गर्दै आएको छ । तर स्वीकृति नपाउँदा उपचार सेवा सुरु गर्न नसकिएको भाष्करको भनाइ छ ।

यसअघि गत असारमा एक साताभित्र दुई बालिकाको सर्पदंशबाट ज्यान गएपछि उपमहानगरपालिकाले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र टेकुस्थित इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई छुट्टाछुट्टै पत्र लेखेर उपचार सेवा संचालनका लागि स्वीकृति माग गरेको थियो । त्यसको केही समयपछि उपमहानगरपालिकाले पुनः ताकेता गर्दै अर्को पत्र समेत लेखिसकेको छ । तर हालसम्म स्वीकृति भने पाउन सकेको छैन ।

सिमरामा नगर अस्पतालको सुविधासम्पन्न भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । उपमहानगरपालिकाले सोही अस्पतालमा सर्पदंशको उपचार सेवा सुरु गर्ने तयारी पनि गरिरहेको छ । सम्बन्धित निकायको स्वीकृति, दक्ष जनशक्ति र सुविधासम्पन्न उपचार कक्ष नभएसम्म सर्पदंशको उपचार सम्भव छैन । त्यसैले पनि उपमहानगरपालिकाले दक्ष जनशक्तिसहितको सहजीकरणका लागि सम्बन्धित निकायमा पत्राचार गरिरहेको हो ।

प्रतिक्रिया दिनुहोस्