नेपालकी काजल श्रेष्ठ पाँचौं एसियन पारा गेम्स र विश्व पुम्से च्याम्पियनसिपमा रेफ्री छनोट


eShilalekh

२९ श्रावण २०८३, शुक्रबार १५:५०

सिमराः तेक्वान्दोको अन्तर्राष्ट्रिय रेफ्री काजल श्रेष्ठ जापानको अ‍ैची नागोयामा हुने पाँचौं एसियन पारा गेम्सको रेफ्री (निर्णायक) मा छनोट भएकी छिन् । विश्व तेक्वान्दो महासंघले काजललाई प्रतियोगिताको निर्णायकमा छनौट गरेको हो ।

काजलले अक्टोबर १८ देखि २४ सम्म हुने एसिएन पारा गेम्समा निर्णायकको भूमिका निर्वाह गर्नेछिन् । एसिएन पारा गेम्समा नेपालबाट छनौट हुने काजल पहिलो महिला अन्तर्राष्ट्रिय रेफ्री हुन् ।

यसअघि उनले विभिन्न अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेकी छिन् । उनी हालै दक्षिण कोरियामा सम्पन्न विश्व पारा तेक्वान्दो ओपन च्यालेन्ज, चुन्चोन कोरिया ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा समेत रेफ्री थिइन् । यसैगरी उज्वेकिस्तानमा जुनियर वल्र्ड तेक्वान्दो च्याम्पियनसीप, अस्ट्रेलियन ओपन, प्रेसिडेन्ट कप, २०२६ ओशियाना च्याम्पियनसीप, मंगोलियामा एसियन गेम्समा समेत उनले रेफ्रीको भूमिका निभाईसकेकी छिन् ।

काजल आगामी सेप्टेम्बरमा कोरियामा हुने चुन्चोन विश्व पुम्से च्याम्पियनसीपमा समेत निर्णायकको रुपमा छनौट भईसकेकी छिन् । उनी एसिएन पारा गेम्समा जानुअघि विश्व पुम्से च्याम्पियनसीप खेलाउन कोरिया जानेछिन् । नेपालबाट विश्व पुम्से च्याम्पियनसीपमा महिला अन्तर्राष्ट्रिय निर्णायक बन्ने पनि काजल पहिलो महिला रेफ्री हुनेछिन् ।

अन्तर्राष्ट्रिय रेफ्रीका रुपमा सफलता हात पार्न सफल काजल नेपालको पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी हुन् । उनले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् ।

खेलाडीका रुपमा पनि थुप्रै सफलता हात पारेकी काजल केही वर्षयता अन्तर्राष्ट्रिय निर्णायकका रूपमा सक्रिय छिन् । खेलाडीपछि निर्णायकका रुपमा देशको नाम चिनाउन पाँउदा खुशी लागेको प्रतिक्रिया उनले दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्