केवाईसी अपडेट गर्ने भन्दै ठगीमा संलग्न बारा र पर्साका दुई युवकसहित चार जना प्रहरीको नियन्त्रणमा

सिमराः केवाईसी अद्यावधिक गर्ने बहानामा विभिन्न व्यक्तिलाई फोन गरी वित्तिय ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले बारा र पर्साका दुई युवकसहित चार जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका अनुसार बहालवाला तथा सेवानिवृत्त कर्मचारीहरूलाई लक्षित गरी फोन र ह्वाट्सएपमार्फत सम्पर्क गरेर ठगी गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा बारा देवताल गाउँपालिका ४ का २२ वर्षीय अभय तिवारी, वीरगन्ज महानगरपालिका ३ का २७ वर्षीय कुवेर थापा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिका १६ का २२ वर्षीय जय कुमार केवट र रामग्राम नगरपालिका १७ का २२ वर्षीय विद्या सागर केवट रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा साइबर ब्यूरोको टोलीले चार जनालाई चितवनबाट पक्राउ गरेको हो ।
उक्त समूहले आफूलाई बैङ्कको प्रतिनिधि बताउँदै फोन गर्ने र स्क्रिन सेयर गर्न लगाउने, ओटीपी कोड मागेर खातामा अनधिकृत पहुँच पुर्याउने र खातामा रहेको रकम अन्यत्र रकमान्तर गरी ठगी गर्ने गरिएको प्राविधिक विश्लेषणबाट खुल्न आएको साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । पक्राउ परेका व्यक्तिहरूमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत अनधिकृत पहुँच र विद्युतीय माध्यम सम्बन्धी ठगी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रवक्ता गिरीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।







