एमाले जीतपुरसिमरा-४ को अधिवेशन सम्पन्न, भट्टको अध्यक्षतामा कमिटी चयन


eShilalekh

१७ आश्विन २०८३, शनिबार २२:०२

सिमरा: नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ को नयाँ वडा कमिटी चयन भएको छ । नवगठित १३ सदस्यीय कमिटीको अध्यक्षमा श्याम भट्ट सर्वसम्मत निर्वाचित भएका छन् ।

कमिटीको उपाध्यक्षमा अमिताभ चौधरी, सचिवमा शंकर सिम्खडा र उपसचिवमा सन्जु चौधरी चयन भएका छन् । महिला उपसचिव भने पछि मनोनीत गरिने जनाइएको छ । निर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई एमाले मधेस प्रदेश सचिव मनोज पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।

अधिवेशन भनाइ राख्दै एमाले नगर कमिटी अध्यक्ष शाह ।

कार्यक्रमका प्रमुख अतिथि एवम् नेकपा एमालेका केन्द्रीय सदस्य तथा बारा इन्चार्ज अच्युत मैनालीले पार्टी संगठन सुदृढीकरण र भावी कार्ययोजनाबारे आफ्नो विचार राखेका थिए । कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार सदस्य सरस्वती चौधरी, मधेस प्रदेश सचिवालय सदस्य सुन्दर विक, प्रदेशसभा सदस्य देवनारायण चौधरी, प्रदेश सदस्य सीता गुरुङ, प्रदेश विभाग सदस्य दिनेश्वर ठाकुर, जिल्ला सचिवालय सदस्य तथा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारी, जिल्ला सचिवालय सदस्य रमेश खरेल र एमाले जीतपुरसिमरा नगर कमिटी अध्यक्ष त्रिलोक बिक्रम शाह, जीतपुरसिमरा उपमहानगरपालिकाका कार्यपालिका सदस्य अर्जुन रसाइलीलगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

वडा कमिटी अध्यक्ष भागवत चौधरीको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण नवीन खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्