गरिमा हत्या प्रकरणः न्याय माग्दै २४ घण्टादेखि सडकमा प्रदर्शन जारी


eShilalekh

४ भाद्र २०८३, बिहीबार १२:४९

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा (गढिमा) चौधरीको बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा स्थानीयको प्रदर्शन बिहीबार पनि जारी छ । प्रदर्शनका कारण पथलैया–वीरगन्ज सडकखण्ड २४ घण्टादेखि ठप्प छ ।

घटनाको विरोध गर्दै स्थानीयले बुधबार बिहान करिब ११ बजेदेखि सडक अवरुद्ध गरेका थिए । टायर बालेर प्रदर्शनमा उत्रिएका स्थानीयले रातभर सडक छोडेनन् । उनीहरुले बिहीबार बिहानदेखि सडकमा टेन्ट राखेर प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

घटनाबाट आक्रोशित पीडित परिवार र स्थानीयले कानुन संसोधन गरेर दोषीमाथि कडा सजाय हुनुपर्ने, जिम्मेवार प्रहरी कर्मचारीमाथि कारवाही गरिनुपर्नेलगायतका माग राखेका छन् । स्थानीय प्रदर्शनमा उत्रिएपछि बुधबार साँझ पीडित पक्ष र प्रशासनबीच केहीबेर छलफल समेत भएको थियो । उक्त छलफल निष्कर्षविहिन बनेपछि स्थानीयले आन्दोलन जारी राखेका हुन् ।

यता घटनाको विरोधमा पथलैया, सिमरा, जीतपुर, डुमरवानालगायतका क्षेत्रमा पनि स्थानीयले टायर बालेर प्रदर्शन गरेका छन् । तीन वर्षीया अवोध बालिकामाथि भएको बलात्कार र हत्याजस्तो जघन्य अपराधमा संलग्न दोषीमाथि हदैसम्मको कारवाहीको माग गरिएको छ ।

साउन ३१ गते जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेबाट हराएकी तीन वर्षीया बालिका गरिमा मंगलबार साँझ मृत भेटिएकी थिइन् । उनको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको हो । हराएको स्थानदेखि करिब डेढ सय मिटर दक्षिणतर्फ पाँच महिनादेखि खाली रहेको एक सुनसान घरमा अर्धनग्न अवस्थामा बालिकाको शव फेला परेको थियो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक १६ वर्षीय बालक र २४ वर्षीय प्रोग्रेस चौधरीलाई नियन्त्रणमा लिएको छ । चौधरी म्याजिक गाडीका चालक र १६ वर्षीय बालक सहचालक हुन् । मृतक बालिका र म्याजिक गाडीका चालकको घर करिब एक सय मिटरको दुरीमा छ ।

पीडित परिवारले घटनामा १६ वर्षीय बालकसँगै म्याजिकका चालक चौधरीको पनि संलग्नता रहेको आरोप लगाउँदै आएका छन् । चौधरीकै घरमा बालिकाको हत्या गरेर सुनसान रहेको घरमा शव व्यवस्थापन गरिएको मृतककी बुवा मनोज चौधरीको भनाइ छ । प्रहरीले म्याजिक चालक चौधरीको पत्नीसहित परिवारका अन्य सदस्यलाई समेत अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताइएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले भने घटनामा १६ वर्षीय बालकको संलग्नता देखाएको छ । शव भेटिएलगत्तै पक्राउ परेका बालकले चकलेटको प्रलोभन देखाएर आफूले बालिकामाथि बलात्कार र हत्या गरेको बयान दिएका छन् । बालक र म्याजिक चालक चौधरीलाई बारा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरि अनुसन्धान भईरहेको बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस्