कलैयाबाट बेपत्ता भएकी दुई वर्षीया बालिका सकुशल फेला

सिमराः बाराको कलैया उपमहानगरपालिका १ कट्टीपर्साबाट शनिबार साँझ बेपत्ता भएकी दुई वर्षीया बालिका १२ घण्टापछि सकुशल फेला परेकी छिन् ।
स्थानीय मुकेश मण्डलकी छोरी विन्दी मण्डल घरअगाडि खेलिरहेको अवस्थामा शनिबार साँझ ५ः३० बजेतिर अचानक बेपत्ता भएकी थिइन् । बालिका हराएपछि परिवार र स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको नेतृत्वमा खटिएको प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको संयुक्त टोलीले तालिमप्राप्त कुकुरसहित सम्भावित स्थानहरूमा तीव्र खोजी अभियान चलाएको थियो ।
आइतबार बिहान ५ बजे कलैया उपमहानगरपालिका २६ सिसवा महेशपुरमा सडक किनारामा बालिकालाई रोइरहेको अवस्थामा देखेपछि स्थानीय महिला सल्मा नेशाले प्रहरीलाई खबर गरेकी थिइन् ।
घरभन्दा करिब एक किलोमिटर उत्तरतर्फ सकुशल फेला परेकी बालिकालाई प्रहरीले उद्धार गरी स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल कलैया पठाएको थियो ।
बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको र सुरक्षित रूपमा परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी मीनबहादुर घलेले जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







