मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई बुधबार सार्वजनिक बिदा

सिमराः गृह मन्त्रालयले मोहम्मद जयन्तीको अवसरमा भदौ १० गते बुधबार देशभरका मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले मंगलबार एक सूचना जारी गर्दै उक्त बिदाबारे जानकारी दिएका हुन् ।
२०८२ फागुन १८ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम समुदायका लागि बिदा दिने व्यवस्था रहेको छ। सोही व्यवस्था अनुसार मुस्लिम आयोगबाट २०८३ भाद्र १० गते बुधबार मोहम्मद जयन्ती परेको सिफारिस प्राप्त भएपछि सरकारले सो निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ‘मुस्लिम आयोगबाट मिति २०८३ साल भाद्र १० गते बुधबारका दिन मोहम्मद जयन्ती परेको व्यहोरा जानकारी प्राप्त हुन आएको हुँदा नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।’ गृह मन्त्रालयले मोहम्मद जयन्तीको पावन अवसरमा सम्पूर्ण नेपाली मुस्लिम धर्मावलम्बीहरूमा शुभकामना समेत व्यक्त गरेको छ।
यसैबीच मधेस प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले पनि छुट्टै सूचना जारी गर्दै बुधबार प्रदेशभरका मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिइएको पुष्टि गरेको छ।







