तीन महिनादेखि बेखबर रहेकी बालिका फेला परिन्


eShilalekh

९ भाद्र २०८३, मंगलवार १९:४९

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका-६ बाट तीन महिनादेखि बेखबर रहेकी ११ वर्षीया एक बालिका वीरगन्जमा भेटिएकी छिन् । एक संस्थाले संरक्षण गरेर राखेको अवस्थामा बालिका भेटिएकी हुन् ।

आमा गुलाप्सा खातुनले आफ्नो छोरीसँग भेट गरेकी छिन् । यसअघि उनले मंगलबार दिउँसो ईलाका प्रहरी कायालय सिमरामा खोजतलासको निवेदन दिएकी थिइन् । खोजीका लागि निवेदन दिएको केही घण्टामै बालिकाको अवस्था पत्ता लागेको हो ।

खोजतलासका लागि निवेदन परेपछि बाराका प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्र, प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक सरोज निरौला, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको टोली बालिकाको घरमा पुगेर वस्तुस्थिति बुझेको थियो । सुरक्षा निकायको टोली बालिकाको घरमा पुगेको केहीबेरमा बालिका एक संस्थाको संरक्षणमा रहेको खुलेको हो ।

बालिकालाई त्यस संस्थाले संरक्षण गर्दै आएको थियो । गत जेठ १७ गते घरबाट निस्किएकी बालिका त्यसयता सम्पर्कमा आएकी थिइनन् । उनी यसअघि पनि पटक–पटक घरबाट निस्किने गरेको र प्रहरीले खोजी गरेर परिवारलाई बुझाउने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्