रसुवा बाढी पीडितका लागि निजगढ नगरपालिकाले राहत कोषमा सहयोग गर्ने

सिमराः रसुवामा आएको विनाशकारी बाढीका कारण पुगेको क्षतिप्रति निजगढ नगरपालिकाले दुःख व्यक्त गर्दै पीडितहरूको उद्धार र राहतका लागि ऐक्यबद्धता जनाएको छ।
नगरपालिकाका प्रमुख सुरथ पुरीले बिहीबार एक शोक वक्तव्य तथा अपिल जारी गर्दै बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
विपद्को यस दुःखद् घडीमा मानवीय सहायता स्वरूप नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूका तर्फबाट नेपाल सरकारले तोकेको सम्बन्धित राहत कोषमा रकम जम्मा गरिने नगर प्रमुख पुरीले जानकारी दिएका छन् ।
बाढीका कारण घर, सडक, पुल, कृषि तथा पशुधनमा ठूलो क्षति पुगेको उल्लेख गर्दै नगर प्रमुख पुरीले प्रभावित नागरिकहरूको उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि आ-आफ्नो स्थानबाट यथासम्भव सहयोग गर्न सर्वसाधारण तथा सङ्घसंस्थासँग अपिलसमेत गरेका छन् ।







