रसुवा बाढी: मधेसका १९२ बेपत्तामध्ये ३० जना सम्पर्कमा, १६२ जना अझै अज्ञात

सिमराः रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको विध्वंशकारी बाढीमा परी मधेस प्रदेशका विभिन्न जिल्लाबाट बेपत्ता भएका १९२ जनामध्ये ३० जना परिवारको सम्पर्कमा आएका छन् भने १६२ जना अझै अज्ञात अवस्थामा रहेका छन् ।
मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी प्रभु प्रसाद ढकालका अनुसार परिवारबाट खोजतलासका लागि परेको निवेदनअनुसार हालसम्म सप्तरीका ४९ मध्ये ४८, सिरहाका १० मध्ये ८, धनुषाका १३ मध्ये ६ र महोत्तरीका १७ मध्ये १० जना अझै सम्पर्कविहीन छन् ।
त्यस्तै सर्लाहीका १९ मध्ये १६, रौतहटका १९ मध्ये १६, बाराका २५ मध्ये २३ र पर्साका ४० मध्ये ३८ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । यसैगरी विपदमा परेका मधेसका ९ जना प्रहरी र ३ जना सेनामध्ये अधिकांश सम्पर्कमा आए पनि ३ जना प्रहरी र २ जना सेनाको अवस्था अझै अज्ञात छ ।
बाढीमा बेपत्ता भएकामध्ये अधिकांश हाइड्रोपावरमा कार्यरत रहेको र सुरुङभित्रै फसेको हुनसक्ने परिवारको आशङ्का छ । रोजगारी र व्यवसायका सिलसिलामा रसुवा, धादिङ र नुवाकोट गएका आफ्ना आफन्तहरूको खोजी गरिदिन परिवारजनले विभिन्न जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।
मधेस प्रदेश प्रहरी कार्यालयले प्रभावित जिल्लाका प्रहरी कार्यालयहरूसँग समन्वय गरी बेपत्ताहरूको खोजतलास कार्य तीव्र पारिएको जनाएको छ ।







