पाडा खोज्न निस्केका टांगियाबस्तीका फुयाँल मृत फेला, मृत्यु शंकास्पद

सिमराः हराएको पाडा खोज्न भन्दै घरबाट निस्किएका बारा जीतपुरसिमरा उपमहानगरपालिका–१६ टांगियाबस्तीका ५५ वर्षीय देवीप्रसाद फुयाँल आइतबार जंगलमा मृत फेला परेका छन् । उनको शव सहजनाथ मन्दिरदेखि दक्षिणतर्फको जंगलमा फेला परेको हो ।
पाडा खोज्न भन्दै शनिबार बिहान ५ बजे साइकल चलाएर घरबाट निस्किएका फुयाँल नफर्किएपछि उनको खोजी थालिएको थियो । खोजी गर्ने क्रममा स्थानीयले उनको शव फेला पारेका हुन् । स्थानीयका अनुसार फुयाँलको शवमाथि उनको साइकल रहेको र चप्पल करिब एक सय मिटर दक्षिणतर्फ फेला परेको थियो । घटना रहस्यमय देखिएको भन्दै स्थानीयले सुक्ष्म अनुसन्धानको माग गरेका छन् ।
शव भेटिएको जानकारी पाएलगत्तै बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र, प्रहरी उपरीक्षक नरेन्द्र कुँवरसहितको टोली घटनास्थल पुगेको थियो । तालिमप्राप्त कुकुरसहित पुगेको प्रहरी टोलीले घटनास्थलको मुचुल्का गर्दै शव शल्यपरीक्षणका लागि प्रादेशिक अस्पताल कलैया पठाएको छ । ‘घटनास्थलको मुचुल्का गरी शव शल्यपरीक्षणका लागि पठाएका छौं । त्यसको रिपोर्टले मृत्युको कारण खुल्नेछ’ प्रहरी उपरीक्षक कुँवरले भने ‘त्यसबाहेक हामीले आवश्यक अनुसन्धान अघि बढाईसकेका छौं ।’
फुयाँलको शव शल्यपरीक्षणका लागि लगिएपछि जीतपुरसिमरा उपमहानगरपालिका–१६ का वडाध्यक्ष हरिदेव खरेलले घटनाको सत्यतथ्य छानविनको माग गरेका छन् । सुरक्षा निकायका प्रमुखले सुक्ष्म अनुसन्धान गर्ने प्रतिवद्धता जनाएसँगै शव शल्यपरीक्षणका लागि पठाईएको भन्दै खरेलले रहस्यमय घटनालाई गम्भीरताका साथ अनुसन्धान गर्न आग्रह गरेका छन् ।
स्थानीयका अनुसार कोल्हबी नगरपालिका–८ को रामनगरमा पाडा फेला परेपछि उनी घर फर्कदै थिए । साइकलको पछाडि पाडा बाँधेर फर्किरहेको अवस्थामा अटो चालकले समेत फुयाँललाई देखेको स्थानीयको भनाइ छ ।
फुयाँलले साइकलको पछाडि बाँधेको पाडा भने शनिबार बिहान करिब १० बजे नै घर पुगेको थियो । छिनेको जस्तो देखिने डोरी घाँटीमा बाँधेकै अवस्थामा पाडा घर पुगेपनि फुयाँल नदेखिएपछि परिवार र स्थानीयले खोजी थालेका थिए । अटो चालकले देखेको भैरव मन्दिर नजिकैको जंगलमा खोजी गर्ने क्रममा फुयाँलको शव फेला परेको हो ।
घटनास्थल पुगेका जीतपुरसिमरा–१६ का रवीन्द्रराज भण्डारीले डोरी छिनाएको अवस्थामा पाडा घर पुग्नु, शवमाथि साइकल राखिनु, चप्पल एक सय मिटर टाढा भेटिनुले घटनालाई शंकास्पद बनाएको बताए । पाडाले लछारेर घटना भएको भन्ने आशंका गर्ने ठाउँ समेत नरहेको भण्डारीको भनाई छ ।
टांगियाबस्तीका अर्का स्थानीय रमेश सापकोटाले फुयाँलको हत्या भएको हुनसक्ने आशंका व्यक्त गरेका छन् । उक्त क्षेत्रमा यसअघि पनि घटना भएको बताउँदै सापकोटाले गहिरिएर अनुसन्धान गर्न आवश्यक रहेको बताए ।







