प्रगतिशील सामुदायिक वनको सहसचिवमा दीपक अधिकारी मनोनित

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका-४ स्थित प्रगतिशील सामुदायिक वन उपभोक्ता समूहको रिक्त सहसचिव पदमा दीपक अधिकारी मनोनित भएका छन् । साविकका सहसचिव मिनबहादुर कंडेल वैदेशिक रोजगारीको सिलसिलामा विदेशिएपछि खाली भएको पदमा कार्यसमिति सदस्य रहेका अधिकारीलाई सहसचिवको जिम्मेवारी दिइएको हो ।
अधिकारी सहसचिवमा पदोन्नति भएसँगै रिक्त भएको कार्यसमिति सदस्य पदमा भने साधारण उपभोक्ताहरूमध्येबाट वासुदेव खत्रीलाई मनोनित गरिएको छ । मनोनित पदाधिकारीहरूलाई बधाई दिँदै वन समूहका अध्यक्ष सन्तोष दाहाललगायत कार्यसमितिका अन्य पदाधिकारीहरूले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
गत २०८२ वैशाखमा सम्पन्न निर्वाचनमार्फत उक्त सामुदायिक वनमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको थियो ।







