बाढीपीडितका लागि गोर्खा लाहारीद्धारा ६३ लाख ६५ हजार सहयोग


eShilalekh

१५ भाद्र २०८३, सोमबार १९:५३

सिमराः रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूको राहत, उद्धार र पुनर्स्थापनाका लागि गोर्खा लाहारी प्रालिले ६३ लाख ६५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

हेटौंडामा रहेको उक्त उद्योगले सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सो रकम बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।

अर्थ मन्त्रालयमा गोर्खा लाहारीका कर्पोरेट मेनेजर नवल किशोर चौधरी र प्रशासन शाखा प्रमुख प्रभाकर भण्डारीले संयुक्त रूपमा अर्थमन्त्री वाग्लेलाई चेक हस्तान्तरण गरेका थिए । सो अवसरमा कम्पनीका सेल्स एण्ड मार्केटिङ प्रमुख आनन्दकुमार तोतला र काठमाडौँ शाखा प्रमुख प्रकाश तण्डुकारको पनि उपस्थिति रहेको थियो ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विपद्को यस कठिन घडीमा बाढीपीडितहरूका लागि तत्काल राहत पुगोस् भन्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको जनाएको छ । गोर्खा लाहारीले यसअघि पनि यस्ता सामाजिक कार्यमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्