अमलेखगञ्जस्थित विद्यालयमा सूचना प्रविधि तालिम सम्पन्न, उपमहानगरद्वारा पाँच थान स्मार्टबोर्ड हस्तान्तरण


eShilalekh

१५ भाद्र २०८३, सोमबार २०:४७

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ अमलेखगञ्जस्थित नेपाल माध्यमिक विद्यालयमा आयोजित आर्टिफिसियल इन्टेलिजेन्स, सूचना प्रविधि तथा स्मार्टबोर्ड सञ्चालनसम्बन्धी तीन दिने क्षमता अभिवृद्धि तालिम सोमबार सम्पन्न भएको छ । तालिमको समापनसँगै उपमहानगरपालिकाको तर्फबाट विद्यालयलाई पाँच थान डिजिटल स्मार्टबोर्ड हस्तान्तरण गरिएको छ ।

विद्यालयमा आधुनिक प्रविधिमैत्री पठनपाठन अभिवृद्धि गर्ने र शिक्षकहरूलाई प्रविधिसँग अभ्यस्त गराउने उद्देश्यले आयोजित तालिममा विद्यालयका शिक्षक तथा शिक्षिकाहरूको सहभागिता रहेको थियो । हस्तान्तरण गरिएका स्मार्टबोर्डमार्फत कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूलाई प्रविधिमैत्री वातावरणमा अध्यापन गराइने विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् वडाध्यक्ष सुवास श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख भोलाप्रसाद अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी भई विद्यालयलाई आधिकारिक रूपमा स्मार्टबोर्ड हस्तान्तरण गरेका थिए । कार्यक्रममा शाखा अधिकृत सुदन चौधरी, वडासदस्य जमुना गौतम, सिता विकको समेत उपस्थिति रहेको थियो।

कार्यक्रमका नगर उपप्रमुख अधिकारीले वर्तमान समयमा प्रविधिमैत्री शिक्षाको अपरिहार्यता र महत्त्वमाथि प्रकाश पारेका थिए । प्रविधिको विकाससँगै शिक्षणविधिलाई आधुनिक र सहज बनाउन उपमहानगरपालिका प्रतिबद्ध रहेको बताउँदै अधिकारीले हस्तान्तरित स्मार्टबोर्डले विद्यालयको डिजिटल शिक्षण पद्धतिलाई थप प्रभावकारी, सहज र नतिजामुखी बनाउने विश्वास व्यक्त गरे ।

कार्यक्रमका वडाध्यक्ष श्रेष्ठले बदलिँदो युगसँगै सामुदायिक विद्यालयको शिक्षालाई पनि आधुनिक र प्रतिस्पर्धी बनाउन प्रविधिको प्रयोग अपरिहार्य रहेको बताए । श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक प्रधानाध्यापक रोहितबहादुर घिसिङ तामाङले स्वागत मन्तव्य राखेका थिए भने सहजीकरण विद्यालयका प्रधानाध्यापक माधव नेपालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्