जीतपुरसिमरा-१८ द्वारा बाढीपीडितका लागि ५१ हजार सहयोग गर्ने निर्णय, अन्य सहयोग कट्टा

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ को कार्यालयले रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितका लागि ५१ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । वडाध्यक्ष चतुरबाबु वाग्लेको अध्यक्षतामा बसेको वडा समितिको बैठकले भदौ १० गतेको बाढीबाट क्षति पुगेका नागरिकहरूको राहत तथा उद्धारका लागि सो रकम प्रदान गर्ने निर्णय गरेको हो।
वडा कार्यालयका अनुसार आर्थिक वर्ष २०८३/०८४ को वडास्तरीय बजेट अन्तर्गत धर्म संस्कृति जगेर्ना कार्यक्रम शीर्षकमा विनियोजित रकम तत्काल खर्च नगरी सोही बजेटबाट सहयोग उलपब्ध गराउने वडा समितिले निर्णय गरेको हो । उक्त रकम विपद् व्यवस्थापन तथा आर्थिक सहायता शीर्षकमार्फत कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।
विपद्को यस कठिन घडीमा पीडित परिवारसम्म तत्काल राहत पुगोस् भन्ने उद्देश्यले वडा तहबाटै सामाजिक उत्तरदायित्व वहन गर्दै यो सहयोग रकम पठाउने निर्णय गरिएको वडाध्यक्ष वाग्लेले बताएका छन् ।







