भोटेकोशी र त्रिशूली बाढीका मृतक परिवारलाई मधेस प्रदेश सरकारले १-१ लाख रुपैयाँ राहत दिने

जनकपुरधाम: भोटेकोशी तथा त्रिशूलीको भीषण बाढीका कारण प्रभावित भएका मधेस प्रदेशका नागरिकका लागि मधेस प्रदेश सरकारले विशेष राहत र उपचारको घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले बाढीमा परी ज्यान गुमाएका प्रदेशभित्रका मृतकका परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
विपद्का कारण ज्यान गुमाएका नागरिकका परिवार वा प्रचलित कानूनबमोजिमका नजिकका हकवालालाई तत्काल आवश्यक पर्ने खर्च व्यवस्थापनका लागि सो रकम उपलब्ध गराउन लागिएको अर्थमन्त्री युवराज भट्टराईले जानकारी गराएका छन् ।
यसैगरी मधेस सरकारले बाढी प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा पहिलो चरणमा सात हजार थान कम्मल र सात हजार सेट टेन्ट गरी कुल एक करोड ९६ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गर्ने भएको छ । उक्त सामग्री मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयका माननीय मन्त्री फकिरा महतोमार्फत नुवाकोट तथा रसुवा जिल्लाका जिल्ला प्रशासन कार्यालय, वाग्मती प्रदेश सरकार र प्रभावित क्षेत्रको स्थानीय तहको जनप्रतिनिधिको रोहबरमा हस्तान्तरण गरिने मन्त्री भट्टराईले जानकारी दिए ।







