बारा र रौतहटका प्रमुख जिल्ला अधिकारीको सरुवा, अधिकारी र पौडेल आउँदै

सिमराः गृह मन्त्रालयले बारा र रौतहटका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको सरुवा गरेको छ । मन्त्रालयको भदौ १८ गतेको निर्णय अनुसार बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको जिल्ला प्रशासन कार्यालय गोरखामा सरुवा भएको छ ।
गत कात्तिकमा जिल्ला प्रशासन कार्यालय सुनसरीबाट बारा आएका मिश्रको स्थानमा अब जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी आउने भएका छन् । नयाँ सिडिओका रूपमा आउन लागेका अधिकारी गत चैत अन्तिम साता जाजरकोट खटिएका थिए ।
यसैगरी छिमेकी जिल्ला रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । भुषालको सरुवासँगै रौतहटको नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा जिल्ला प्रशासन कार्यालय पर्वतबाट लक्ष्मीप्रसाद पौडेल आउने भएका छन् ।







