पर्सामा एक सय १४ किलो लागूऔषध गाँजासहित एक जना पक्राउ


eShilalekh

२० भाद्र २०८३, शनिबार १२:५५

सिमराः पर्सा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा र कारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको बेनिघाट रोराङ गाउँपालिका ८ का २१ वर्षीय साजन चेपाङ रहेका छन् ।

प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले पकहामैनपुर गाउँपालिका १ स्थित तिलाईपुलतर्फबाट आउँदै गरेको बा १८ च ३६५७ नम्बरको निशान कारलाई रोकेर चेकजाँच गरेको थियो ।

जाँचका क्रममा कारको डिकीभित्र १२ वटा पोकामा लुकाइछिपाई राखिएको अवस्थामा एक सय १४ किलो २५ ग्राम लागूऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी चक्रबहादुर मल्लले जानकारी दिएका छन् ।

पक्राउ परेका चेपाङ र बरामद गरिएको गाँजा तथा कारलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्