सिमरा घटनाः अनुसन्धानका लागि पाँच जना नियन्त्रणमा


eShilalekh

४ आश्विन २०८३, आईतवार १०:०७

सिमराः बाराको सिमरामा शनिबार साँझ भएको चक्कु प्रहार घटनाको अनुसन्धान गर्न प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकामध्ये हालसम्म चक्कु प्रहार गर्ने मुख्य आरोपित आयुश राईको नाम मात्रै खुलेको छ ।

घटनालगत्तै फरार भएका २३ वर्षीय राईलाई प्रहरीले जीतपुरसिमरा–१६ महेन्द्रनगरस्थित स्थित डाँडाटोलको धान खेतबाट राति ९ः३० बजे नियन्त्रणमा लिएको हो । सिमरास्थित नेपाल केबुल अगाडि रहेको सम्झना स्टाफ होटलमा बसिरहेका ३५ वर्षीय शेरबहादुर खड्कालाई होटलकै भान्साको चक्कुले रेटेर राई फरार भएका थिए । घटना भएको पाँच घण्टामै राईलाई प्रहरीले धान खेतमा आफ्नै कपडाले मुख छोपेर लुकिरहेको अवस्थामा पक्राउ गरेको हो ।

घटनास्थलबाट पश्चिममा रहेको जंगलतर्फ फरार भएका राई राजमार्ग निस्किएर जीतपुरसिमरा–१६ को महेन्द्रनगर पुगेको सूचना प्रहरीले पाएको थियो । त्यसअघि उनले आफन्तसँग भाडा लिएको र गाडी चढेर महेन्द्रनगरतर्फ गएको बुझिएको छ ।

महेन्द्रनगरस्थित आफन्तको घरमा लुकेर बसेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्ट (डीएसपी) को नेतृत्वमा प्रहरी टोली पुगेको थियो । प्रहरी आएको थाहा पाएपछि राई उक्त घरबाट भागेर नजिकै रहेको अर्को आफन्तको घरमा पुगेका थिए । त्यहाँ पनि प्रहरी पुगेपछि राई धानखेतमा लुक्ने प्रयास गरेका थिए ।

प्रहरीले धान खेतलाई घेरा हालेर राईलाई नियन्त्रणमा लिन सफल भएको हो । आफन्तले प्रहरीलाई अल्मल्याउने प्रयास गरेपनि अन्ततः राईलाई पक्राउ गर्न सफल भएको प्रहरीको भनाई छ । राईलाई भगाउन सहयोग गर्ने आफन्तलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने आफन्तको नाम खुलेको छैन ।

प्रहरीले यसअघि शनिबार साँझ दुई युवकलाई नियन्त्रणमा लिएको थियो । राईसँगै होटलमा आएका दुई युवकलाई प्रहरीले गण्डकस्थित बयोधा अस्पतालबाट नियन्त्रणमा लिएको हो । घाइते खड्कालाई लिएर उनीहरु दुई जना अस्पताल गएका थिए । घटनाको सोधपुछ गर्न प्रहरीले उनीहरुलाई अस्पतालबाटै नियन्त्रणमा लिएको हो ।

प्रत्यक्षदर्शीका अनुसार खड्का होटलमा बसिरहेका बेला मदिराले मातिएर राईसहित अन्य दुई युवा होटलमा आएका थिए । उनीहरुबीच के विवाद भएको भन्ने खुलेको छैन । होटल संचालकले पनि उनीहरुबीचको विवादका विषयमा आफूलाई जानकारी नभएको बताएका छन् । अचानक राईले भान्सामा रहेको चक्कु ल्याएर राईको घाँटी रेटेर भागेका थिए । प्रहरीले होटल संचालकलाई पनि घटनाबारे सोधपुछका लागि नियन्त्रणमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्