रसुवा बाढीमा वेपत्ता जगरनाथपुरका ६ युवाको परिवारलाई वीरगन्ज महानगरले सहयोग गर्ने

वीरगन्जः रसुवा बाढीमा परी बेपत्ता भएका जगरनाथपुरका ६ जना युवाका परिवारलाई वीरगन्ज महानगरपालिकाले राहत तथा आवश्यक सहयोग उपलब्ध गराउने भएको छ । गत भदौ १० गते आएको विनाशकारी बाढीमा पर्दा वीरगन्ज-२२ जगरनाथपुरका ६ जना युवा सम्पर्कविहीन भएका थिए ।
बाढी आएको लामो समय बितिसक्दा पनि उनीहरूको अवस्था अझै अज्ञात छ । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र पूर्वमन्त्री प्रदीप यादव आइतबार जगरनाथपुर पुगेर बेपत्ता परिवारसँग भेटघाटगरेका छन् । भेटका क्रममा उनीहरुले परिवारको पीडा, खोजीको अवस्था र भोगेका समस्याबारे जानकारी लिएका थिए ।
मेयर सिंहले यो दु:खद घडीमा महानगरपालिका पीडित परिवारको साथमा रहेको र तत्काल गर्न सकिने सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । पूर्वमन्त्री यादवले पनि पीडित परिवारलाई राज्यका सबै तहबाट सहयोग हुनुपर्ने भन्दै आफ्नो तर्फबाट पहल गर्ने आश्वासन दिए ।
बाढीमा परी बेपत्ता हुनेहरूमा साहबुद्दिन मन्सुरी, राहुल मियाँ, सरताज मियाँ, समिम आलम, सर्फराज मियाँ र रिजवान अन्सारी रहेका छन् । उनीहरूमध्ये पाँच जना टिमुरेस्थित मोटरसाइकल ग्यारेजमा काम गर्थे भने एक जना बेत्रावतीको वर्कसपमा कार्यरत थिए । काम गर्न र सिक्न गएका युवाहरू बाढी आएपछि अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन् ।
आफ्ना मान्छेको खोजीका लागि परिवारका सदस्यहरू टिमुरेसम्म पुगेका थिए तर उनीहरूको कुनै पत्तो लाग्न सकेको छैन । भेटिएका शवहरूसँग पहिचान मिलाउन परिवारले डीएनए परीक्षणका लागि रगतको नमुनासमेत बुझाइसकेका छन् ।
बाढीमा परी वीरगंज महानगरपालिका भित्रका करिब १५ जना बेपत्ता भएका छन् ।








