पर्सामा आफ्नै घरभित्र महिला मृत अवस्थामा फेला, लुटपाटपछि हत्याको आशङ्का


eShilalekh

५ आश्विन २०८३, सोमबार २०:२३

वीरगन्ज: पर्साको धोबिनी गाउँपालिका ५ मा एक महिला आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छन्। स्थानीय श्रीनिवास साह तुराहाकी ५५ वर्षीया श्रीमती लखराव देवी साह तुराहा सोमबार बिहान मृत भेटिएकी हुन्।

आइतबार राति तीन तल्ले पक्की घरको पहिलो तल्लामा श्रीमान् र दोस्रो तल्लामा लखराव देवी सुतेका थिए। बिहान सधैँझैँ पूजाआजाका लागि श्रीमती तल नझरेपछि श्रीमान् माथिल्लो तल्लामा जाँदा उनलाई मृत अवस्थामा भेटेका थिए।

घटनास्थलको प्रारम्भिक निरीक्षण गर्दा घरको दोस्रो तल्लाको झ्याल र दराज तोडिएको पाइएको छ। दराजमा रहेका गहनाहरू चोरी भएको जानकारी आए पनि के कति सामान हरायो भन्ने विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार मृतकको टाउकोको पछाडिपट्टि बायाँ भागमा सामान्य चोट देखिएको छ। मृत्युको वास्तविक कारण भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने उनले बताए।

मृतकका दुई छोरा काठमाडौंमा व्यवसाय गर्दै आएका र घरमा वृद्ध दम्पती मात्र बस्दै आएका थिए। चोरी लुटपाटकै नियतले घटना गराइएको हुन सक्ने आशङ्कामा प्रहरीले विभिन्न कोणबाट सूक्ष्म अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्