सडक विस्तारको विरोधमा कालो झण्डासहित सडकमा उत्रिए वीरगञ्जवासी


eShilalekh

७ आश्विन २०८३, बुधबार १२:२५

वीरगञ्जः वीरगञ्जस्थित त्रिभुवन राजपथअन्तर्गत मुख्य बजार क्षेत्रका जग्गा तथा घरधनीहरूले बुधबार बिहान कालो झण्डासहित सडकमा उत्रिएर शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् ।

अस्तित्वमै नरहेको राजमार्गका नाममा वीरगञ्जवासीलाई उठीवास गराउने काम भएको भन्दै रुष्ट बनेका जग्गाधनी तथा व्यापारीहरूले सरकारले आफूहरूको पीडा र समस्यालाई गम्भीरतापूर्वक सुन्नुपर्ने बताएका छन् ।

राजमार्ग विस्तार तथा सडकसम्बन्धी विवादका कारण ठूलो सङ्ख्यामा परिवार र व्यवसाय प्रभावित भएको उल्लेख गर्दै उनीहरूले उचित क्षतिपूर्ति, राहत र समस्याको स्थायी समाधानको जोडदार माग गरेका छन् । वीरगञ्ज मेन रोडका घरधनी तथा व्यापारीहरूको बाक्लो सहभागितामा निकालिएको उक्त विरोध र्‍यालीले बजारका विभिन्न मुख्य भागको परिक्रमा गरी घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै वीरगञ्ज मुख्य रोडका जग्गाधनी तथा व्यापारी पीडित संघर्ष समितिका कुन्दन रौनियारले आफ्ना समस्या र पीडा सरकारसमक्ष पुर्‍याउन शान्तिपूर्ण रूपमा कालो झण्डासहित आन्दोलनमा उत्रिनुपरेको स्पष्ट पारे । उनले सम्बन्धित सडकलाई राजमार्गका रूपमा कायम गर्ने विषयमै प्रश्न उठाउँदै सडक विस्तारबाट प्रभावित भएका वीरगञ्जवासीको पक्षमा न्यायोचित निर्णय गर्न सरकारसँग आग्रह गरका छन् । प्रदर्शनकारीहरूले माग सम्बोधन नभएसम्म शान्तिपूर्ण रूपमा आवाज उठाइरहने चेतावनी दिएका छन् ।

अर्कोतर्फ वीरगञ्जको मुख्य बजार हुँदै जाने सडकअन्तर्गत पर्ने अधिकांश घर तथा टहराहरू भने यसअघि नै भत्काइसकिएको छ । हाल उक्त क्षेत्रमा सडक सरसफाइ तथा अन्य व्यवस्थापनका कार्यहरू तीव्र रूपमा भइरहेको सडक डिभिजन कार्यालय, हेटौंडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्