रौतहटमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते


eShilalekh

८ आश्विन २०८३, बिहीबार १२:१९

रौतहट: रौतहटको धनसार–जङ्गलसहिया सडकखण्डमा बुधबार साँझ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा फतुवा विजयपुर नगरपालिका–५ सन्तपुर दोस्तियाका २० वर्षीय सन्देश यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार गुजरा नगरपालिका–३ स्थित धनसार गेटबाट करिब एक किलोमिटर दक्षिण कल्भर्ट नजिक निजगढतर्फबाट आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०५९५ नम्बरको ईभी गाडी र विपरीत दिशाबाट जाँदै गरेको बा ८५ प ४६२५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर रादेसकुमार खत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले मोटरसाइकल चालक सन्देश र पछाडि सवार कटहरिया नगरपालिका–८ बलुवा टोलका २० वर्षीय राजगीर यादवलाई उद्धार गरी चन्द्रपुरस्थित सिभिल अस्पताल पुर्‍याएको थियो ।

उपचारका क्रममा सन्देशको साँझ करिब ७ बजे मृत्यु भएको हो भने गम्भीर घाइते भएका राजगीरलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगन्ज पठाइएको छ । घटनासम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्