मधेश सरकारद्वारा सशस्त्र प्रहरीलाई २० थान मोटरसाइकल हस्तान्तरण

सिमराः मधेश प्रदेश सरकारले सीमा सुरक्षा तथा शान्ति सुरक्षालाई थप सुदृढ बनाउने उद्देश्यले बिहीबार सशस्त्र प्रहरी बललाई २० थान मोटरसाइकल हस्तान्तरण गरेको छ।
प्रदेशका गृह, कानुन तथा सञ्चारमन्त्री फकीरा महतोले सशस्त्र प्रहरी बल मधेश प्रदेशका प्रमुख डीआइजी विष्णुप्रसाद भट्टलाई मोटरसाइकलको साँचो र ब्लुबुक हस्तान्तरण गरेका हुन्।
मन्त्रालयका अनुसार सीमा सुरक्षा, शान्ति सुरक्षा र नियमित गस्तीलाई अझ प्रभावकारी तथा तीव्र बनाउन यी सवारी साधन उपलब्ध गराइएको हो।

यसैगरी प्रदेश सरकारले बुधबार मात्रै नेपाल प्रहरीलाई ३५ थान मोटरसाइकल उपलब्ध गराएको थियो । मन्त्री महतोले मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी ओमप्रसाद अधिकारीलाई साँचो र ब्लुबुक हस्तान्तरण गरेका थिए ।
मन्त्री महतोका अनुसार आवश्यकताका आधारमा सुरक्षा निकायका लागि थप १० थान मोटरसाइकल सम्बन्धित स्थानमा उपलब्ध गराउने तयारीसमेत भइरहेको छ। प्रदेशका सुरक्षा निकायलाई आवश्यक स्रोत-साधनले सम्पन्न गराउँदै समग्र सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र मजबुत बनाउनेतर्फ प्रदेश सरकार पूर्ण रूपमा केन्द्रित रहेको मन्त्री महतोले बताए।







