भारी वर्षाको जोखिम: भोलि वीरगञ्जका सम्पूर्ण विद्यालयमा बिदा

वीरगञ्जः वीरगन्ज महानगरपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत (निजी) विद्यालयहरुमा असोज ९ गते पठनपाठन बन्द गरिने भएको छ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले बिहीबार एक सूचना जारी गर्दै भोलि एक दिनका लागि पठनपाठन स्थगन गरिएको जानकारी गराएको हो।
शिक्षा तथा खेलकुद मन्त्रालयको प्राप्त पत्रअनुसार नेपालका विभिन्न स्थानमा भारी वर्षा, हावाहुरी तथा चट्यांग पर्ने सम्भावना रहेकाले सम्भावित प्रतिकूल प्रभाव र विद्यार्थीको सुरक्षालाई मध्यनजर गर्दै यो निर्णय लिइएको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ।
साथै अविरल वर्षाका कारण समुदायमा कुनै विपद्को स्थिति सिर्जना भएमा विद्यालयका भवनहरूलाई सुरक्षित आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने गरी पूर्वतयारी अवस्थामा राख्न पनि महानगरपालिकाले विद्यालय प्रशासनलाई निर्देशन दिएको छ।







