सप्तरी: खाल्डोमा जमेको पानीमा डुबेर ५ वर्षीय बालकको मृत्यु


eShilalekh

१० आश्विन २०८३, शनिबार १२:०४

सप्तरी: सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ गोबरगढामा खाल्डोमा जमेको पानीमा डुबेर ५ वर्षीय बालकको मृत्यु भएको छ।मृत्यु हुनेमा स्थानीय बासिन्दा सुरेश यादवका ५ वर्षीय छोरा विवेक यादव रहेका छन्।

शुक्रबार दिउँसो करिब १२ बजे घरबाट दक्षिणतर्फको चौरमा खेल्न गएका बालक पानी जमेको खाल्डोमा डुबेको अवस्थामा फेला परेका थिए।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार बालकको उद्धार गरी घर लगिए पनि तबसम्म उनको मृत्यु भइसकेको थियो। घटनाबारे स्थानीयले जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक अनिल साहको नेतृत्वमा प्राविधिक टोली अनुसन्धानका लागि घटनास्थलतर्फ परिचालन गरिएको छ।

यता सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै गोबरगढा क्षेत्र उच्च बाढीको जोखिममा समेत परेको छ। यसैबीच, सम्भावित दुर्घटनाबाट बच्न नदी तथा पानी जमेका खाल्डाखुल्डी आसपासमा विशेष सावधानी अपनाउन प्रहरीले स्थानीय बासिन्दालाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्