रसुवा बाढीमा बेपत्ता सेना जवान साहको कुशको शव बनाएर दाहसंस्कार

सिमराः रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीमा परी बेपत्ता भएका नेपाली सेनाका जवान सुरजकुमार साहको एक महिनापछि शनिवार दाहसंस्कार गरिएको छ।
बाराको सुवर्ण गाउँपालिका–१ सोलकपुर कुम्हटोलीका नेपाली सेनाको श्रीनाथ गणमा कार्यरत साह ड्युटीमै रहेका बेला बाढीमा बेपत्ता भएका थिए। लामो समयसम्म खोजी गर्दा पनि अवस्था पत्ता नलागेपछि परिवारले धार्मिक परम्पराअनुसार टियरी नदी किनारमा कुशको शव बनाएर उनको अन्तिम संस्कार गरेको हो।
दाहसंस्कारअघि नेपाली सेनाले उनलाई सैनिक सम्मानसहित सलामी अर्पण गरेको थियो।
उक्त कार्यक्रममा सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादव, नेपाली कांग्रेसका नेता सतेन्द्र यादव, जेन्जी अगुवा अजय यादव, नेपाली सेनाका प्रतिनिधि तथा थुप्रै स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।
बाढीमा बेपत्ता भएदेखि नै परिवार र आफन्तजनले उनको खोजीका लागि निरन्तर पहल गर्दै आएका थिए तर कतैबाट कुनै जानकारी नआएपछि उनीहरूले कुशको शव बनाएर दाहसंस्कार गरेका हुन्।







