लालबकैया नदीमा बाढीको जोखिम: तटबन्ध जोगाउन सुरक्षाकर्मी परिचालन, स्थानीयलाई सजग रहन आग्रह


eShilalekh

११ आश्विन २०८३, आईतवार १५:०७

रौतहटः लगातारको वर्षाका कारण रौतहटको लालबकैया नदीमा पानीको सतह बढेपछि वरपरका क्षेत्रमा तटबन्ध भत्किने खतरा बढेको छ। बाढीको जोखिमबाट स्थानीय बस्तीहरूलाई बचाउनका लागि जिल्ला प्रशासन र सुरक्षा निकायले सो क्षेत्रमा निगरानी बढाएका छन् ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरू सम्मिलित टोलीले आइतबार राजपुर र मौलापुर क्षेत्रका तटबन्ध तथा पुलको स्थलगत निरीक्षण गरेको छ । मौलापुरको मर्यादपुर र फतुवा पुल नजिकको तटबन्धमा क्षति पुगेमा आसपासका धेरै गाउँहरूसहित सदरमुकाम गौरसम्मै बाढीको पानी पस्न सक्ने जोखिम देखिएको छ।

तटबन्धलाई भत्किन नदिनका लागि कटान सुरु भएका ठाउँहरूमा बाँस गाड्ने र बालुवा भरिएका बोराहरू राखेर मर्मत गर्ने काम तीव्र पारिएको छ । नदीमा पानीको बहाव अझै बढ्न सक्ने सम्भावना रहेकाले जिल्ला प्रशासनले नदी आसपासका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्