पर्साको धोबिनीमा महिलाको हत्या र चोरीमा संलग्न तीन युवक पक्राउ

वीरगन्जः पर्साको धोबिनी गाउँपालिका–५ मा चोरी गर्ने क्रममा एक महिलाको हत्यामा संलग्न तीन जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका १८ वर्षीय चन्दनकुमार पटेल, १८ वर्षीय राज कपुर बैठा र १८ वर्षीय रामु पासवान रहेका छन्।
प्रहरीका अनुसार ती युवाहरुले असोज ५ गते घरमा चोरी गर्ने क्रममा ६२ वर्षीया लखरजिया देवीको हत्या गरेका थिए । चोरी गरिरहेको समयमा लखरजियाले देखेपछि पहिचान खुल्ने डरले ती युवकहरुले हत्या गरेर फरार भएको प्रहरीको भनाइ छ । सोमबार बिहान लखरजिया सुतेकै कोठामा मृत अवस्थामा भेटिएकी थिइन् भने कोठाभित्र रहेको दराज र बाक्सा फोडेर नगद तथा गरगहना चोरी भएको थियो ।
प्रहरी अनुसन्धान अनुसार पक्राउ परेका तीनै जनाले बैठाको घरमा गाँजा सेवन गरी चोरीको योजना बनाएर पछाडिको पर्खाल चढेर घरभित्र प्रवेश गरेका थिए । स्टिलको दराज र टिनको बक्सा फोड्दै गरेको आवाज सुनेर माथिल्लो तलामा आएकी लखरजियालाई उनीहरूले फलामको धारिलो वस्तु प्रहार गरी हत्या गरेर नगद र गरगहना लिएर फरार भएका थिए ।
प्रहरीले पटेललाई शुक्रबार वीरगन्जबाट र बैठा तथा पासवानलाई शनिबार धोबिनी गाउँबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
उनीहरूको साथबाट चोरी भएका नगद, सुनको गहना, गाडीको स्प्रिङ पत्ता, पिलास र चक्कु बरामद गरिएको छ । पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यान कसूर मुद्दामा अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचारः







