जनकपुरको पोखरीमा एक पुरुषको शव फेला

जनकपुर: जनकपुरधामस्थित पोखरीमा मंगलबार बिहान एक पुरुषको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका ८ मा रहेको दशरथ तलावमा अन्दाजी ५० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन्। बिहान करिब १० बजे पोखरीको डिलमा शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।
घटनाको खबर पाएसँगै तत्काल घटनास्थलमा पुगेको प्रहरी टोलीले मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ। मृतकको नाम, थर र वतन अझै खुल्न सकेको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







