निजगढमा अवैध हातहतियारसहित एक जना पक्राउ

सिमराः बाराको निजगढ नगरपालिका–११ रतनपुरबाट प्रहरीले भरुवा बन्दुक, बारुद र पासोसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानिय मोतिलाल रुम्बाका ३९ वर्षीय छोरा शम्शेर रुम्बा रहेका छन् ।
इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान रतनपुर पश्चिम टोलस्थित फुटबल ग्राउण्ड नजिकबाट रुम्बालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार रुम्बाको साथबाट बारुद लोड गरिएको एक थान भरुवा बन्दुक, सेतो प्लास्टिकको डब्बामा राखिएको करिब ८० ग्राम बारुद, बारुद बनाउन प्रयोग हुने पटका तथा बाँसको टुक्रामा प्लास्टिकको डोरी र रबरको ट्युबले बाँधेर बनाइएको एक थान पासोसमेत बरामद गरिएको छ ।
पक्राउ परेका रुम्बाविरुद्ध हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।







